हेर् छोरा !
जहाँबाट भएथ्यो रूखहरूको उत्पत्ति ।
एक लाख सत्चालीस हजार एक सय एकासी-
बर्ग किलोमिटरसम्मै ,
जहाँबाट फैलेथे जराहरू ।
यो एकथूङ्गो सपना जहाँ फुलेथ्यो पहिलोपटक ,
हो त्यो गोरखा यहि हो छोरा ।
…………………………
आज बैँशमै बिधवा भएजस्ता डाँडाहरु हेर् ।
ऐना हेर्नै डराउने यी पाखा र गराहरू हेर् ।
आकासको रङ्ग र हावाका स्वरलिपीहरू हेर् ।
अनि उठा -तेरो पाईताला मुनिको खुकुलो माटो ।
र बता मलाई – तेरै हृदयको प्रयोगशालामा जाँचेर।
………………………….
छोरा! तँलाई यति भनिदिउँ-
कि, बूच्चा बुट्ट्यानहरू र समुन्द्री झारहरूद्वारा –
श्वाभिमानी रूखहरूको कत्लेआम गरिएपछि,
केही बृक्षहरूका जरा काटेर थाँक्रा बनाईएपछि,
केही दृष्टीहरू साँटिएपछी-कागजका पातहरूसंग ,
यति खुकूलो र पकडहिन भएको हो यो माटो ।
उम्रन नसकेका हुन फेरि नयाँ रूखहरू ।
दशगजासम्मै फैलिन नसकेका हुन जराहरू ।
…………………………
त्यसैले यो माटो उडिरहेछ छोरा !
त्यसैले यो माटो उडिरहेछ – गोरूहरुले सिँगौरी खेल्दा पनि ।
यो माटो छरपस्टीरहेछ-मूसाहरूले दूलो पार्दापनी ।
यो माटो चूहिरहेछ-मुटुमै गाँठो पारी राखौँ भन्दापनी ।
यो माटो बगिरहेछ-महाकाली खोल्दापनी,थुन्दापनी ।