मतदान केन्द्रमा फ्याँकिएको बम विस्फोटबाट बचाउने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई एक तह बढुवा गरिएको छ ।
गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा रानालाई प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) बनाएको हो । स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत गत असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोट मतदान केन्द्रमा फ्याँकिएको बम रानाले तत्काल खोल्सातिर फालेर बिस्फोटबाट बचाएका थिए । अज्ञात व्यक्तिले मतदान स्थलनजिक बम फ्याँकेर भागेलगत्तै रानाले उक्त बमलाई खोल्सातिर फ्याँकेर मतदानस्थललाई बिस्फोटबाट बचाएको भन्दै उनको सर्वत्र प्रशंसा भएको थियो ।