‘सबै माओवादी एक हुनुको विकल्प छैन’ – वैद्य, विप्लव र बाबुरामले फुटको औचित्य के ? – प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी एक हुनुको विकल्प नभएको बताएका छन् । ललितपुरको थसीखेलमा बुधबार बिहान आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित भएर गएका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेकोले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताएका हुन् । ‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टि गर्न सक्नुभएन’दाहालले भने, ‘जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको विकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन् । अब सबै माओवादी एक हुनुको विकल्प छैन ।’

अहिले चलिरहेको पार्टीको केन्द्रीय सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्ने उनको भनाइ छ । संगठनबिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष दाहालले संगठन, संगठन र फेरि पनि संगठनको नारासहित जनतामा जानुको कुनै विकल्प नभएकोमा पनि जोड दिए । उनले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जित हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताए । ‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गर्‍यो’ उनले भने, ‘तर, निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं ।’ किन जनताको विश्वास जित्न सकेनौं ? त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार