काठमाण्डौ । पछिल्लो समय औषधि खाएर गर्भपतन गराउनेहरु बढेको चिकित्सकहरुले बताएका छन् । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभाबी खाँदा महिलाहरूको ज्यानै धरापमा परेको छ । औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिए पनि निगरानी नगर्दा जथाभाबी औषधि खाएर महिला रगताम्मे वा बेहोस भएर अस्पताल आइपुग्ने गरेको स्त्री तथा प्रसुती रोग बिशेषज्ञहरु बताउछन् ।
बजारमा छ्यापछ्याप्ती पाइने गर्भपतनका औषधि गर्भको जाँचै नगरी, कहिले, कसरी खाने र खाएपछि के ‘साइड इफेक्ट’ देखिन्छ भन्नेबारे कुनै परामर्श नगरी बेच्ने गरिएको छ । कानुन अनुसार सूचीकृत संस्थाबाट तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र यस्त्यो औषधि सेवन गर्नु पर्छ तर त्यसो हुन सकेको छैन ।कानुनमा ८ सातासम्मको गर्भलाई औषधिद्वारा तुहाउने अधिकार छ । कतिपय महिलाले औषधि नपाउने डरमा ढाँटेर औषधि किन्छन् । समय लम्बिएको गर्भ तुहाउँदा अत्याधिक रक्त श्राव हुनसक्छ । त्यसबाट ज्यानसमेत जानसक्ने चिकित्सहरु बताउँछन् । ९ हप्ता भित्र को गर्भ हो होइन भनेर पक्का गरेर मात्र राम्रो संग चिकित्सकले जाँचेर मात्र गर्भपतनको औषधि सेवन गर्नु पर्ने बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा जागेश्वर गौतम बताउछ ।
गर्भ पतनको औषधि आफु खुशी किनेर खानाले यदि पाठेघरमा गर्भ नबसी पाठेघरको नलीमा बसेको छ र त्यो समयमा गर्भपतनको औषधि सेवन गरियो भने पाठेघरको नली फुट्ने एवं रक्त्श्राव भएर महिलाको ज्यानै जान सक्ने भन्दै जांच नगरिकन गर्भपतन गराउने औषधि सेवन नगर्न चिकित्सकको सुझाब छ ।
चिकित्सकको ‘प्रिस्केप्सन’ बिना गर्भपतनको औषधि दिन मिल्दैन । औषधि पसल सञ्चालनका लागि दिइने अनुमतिपत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्किप्सन’ बिना यो औषधि बेच्न नमिल्ने उल्लेख गरिएको हुन्छ । कानुनी रूपमा स्पष्ट भए पनि यो औषधिको अवैध कारोबार भएको छ । बजारमा मनोमानी रूपमा बिक्री भइरहेको गर्भपतनको औषधि नेपाल सरकारका स्वास्थ्य संस्थाबाट निगरानीसहित निःशुल्क वितरण भइरहेको छ ।