काठमाडौं– स्थानीय तहका दुवै चरणका निर्वाचनमा सतहमा हेर्दा राजनीतिक दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको देखिए पनि यी चुनावमा प्रमुख प्रतिपक्षी दल एमालेले देखिएका दल र नदेखिएका ‘दल’को संयुक्त गठबन्धनसँग प्रतिस्पर्धा गर्नु परेको थियो भन्ने प्रमाणित भएको छ ।
राज्यकोषको रकम, सत्तारुढ कांग्रेस–माओवादीको घोषित गठबन्धन, दर्ता भएजत्तिका सबै दलको चुनावी मोर्चा, निर्वाचन आयोगकै दुरुपयोग र नदेखिनेगरी भूराजनीतिक शक्ति समेत मिलेर आउँदा पनि एमालेले सामना गरी सवै भन्दा ठूलो दल बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाईले पुष्टि गर्छ ।
दाहालले प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ कांग्रेस–माओवादी र राजपाको बैठकमा आफूले राज्य कोषको ११ करोड रुपैयाँ बाँड्दा पनि कैलालीको टीकापुरमा एमालेले जितेकामा आश्चर्य ब्यक्त गर्दै प्रश्न गरे । दाहाल प्रधानमन्त्री रहेकै बेला उनले निर्वाचन आचार संहिता विपरित द्वन्द्वपीडितका नाममा ९ अर्व बाँड्न रकम छुट्याएका थिए । निर्वाचन आयोगले पनि आचार संहिता विपरित दाहालको यो कदमप्रति मौनता देखाएको थियो । दाहालले टीकापुरमा मात्र ११ करोड बाँडेको तर, त्यहाँ एमालेले चुनाव जितेको भन्दै दुःख ब्यक्त गरे ।
कैलालीको टीकापुरमा एक वालकसहित ८ जना प्रहरी अधिकारीमाथि भएको नरसंहारकारी अपराधलाई राजनीतिक आन्दोलनको मान्यता दिंदै दाहालले ११ करोड रुपैयाँ बाँडेका थिए । टीकापुर नरसंहारका फरार अभियुक्त रेशम चौधरीलाई पनि क्षतिपूर्ति वापत भन्दै दाहालले १ करोड ७४ लाख रुपैयाँ राज्यकोषबाट बाँडेका थिए । विपन्न नेपालीले गास काटेर तिरेको राजश्व मानवता विरोधी अपराधका अभियुक्तलाई वितरण गर्दै यसरी राज्यकोष दुरुपयोग गरेका दाहालको पार्टीले यही तरिकाले मात्र देशभर ८४ सिट जित्न सफल भएको पनि यसले पुष्टि गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग प्रश्न गरेको बैठकमा सहभागी नेताहरुले वताए । टीकापुर त्यही ठाउँ हो, जहाँ २०७२ भदौ ७ गते एसएसपीसहित सात जना प्रहरीको हत्या भएको थियो। एक जना बालक पनि मारिएका थिए। देशमा भएका यस्ता अपराधिक घटनाको पृष्ठभूमिमा माओवादीको नै संलग्नता हुने र सरकारमा हुँदा माओवादीले जनताको ज्यान लिने अपराधीलाई नै पालनपोषण गर्ने गरेको पनि यो प्रकरणले पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टीकापुर नरसंहारका अपराधिहरुलाई ११ करोड रुपैयाँ दिने निर्णय गरेपछि दाहाल स्वयं टीकापुर गएका थिए ।
टीकापुरको नरसंहारलाई राजनीतिक आन्दोलन भनी राज्यकोष दुरुपयोग गरी संरक्षण गर्ने पक्षको सर्वपक्षीय गठबन्धनलाई पराजित गर्दै त्यस घटनालाई अपराध भन्दै आएको एमालेले त्यहाँ निर्वाचन जित्यो । यसले टीकापुर नरसंहारका देखिने र नदेखिने रचनाकर्ता दुवैथरीलाई चोट पुगेको छ । श्रोत चक्रपथ