२३ वर्षीया अस्मिता ओझाले सदरमुकामस्थित एक मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी पाएकी छिन् । शाखा अधिकृतमा लोक सेवा आयोगबाट पाँच महिना अघि मात्र सरकारी जागिरे जीवनमा प्रवेश गरेकी उनी छोटै अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य अधिकृत रहेकी ओझाले मतदान अधिकृत हुने प्रस्ताव आउँदा पहिले त आफूलाई डर लागेको सुनाइन् । तर प्रस्तावलाई अवसरको रुपमा ग्रहण गर्ने भित्रि मनले अह्राएपछि सहज रुपमा स्वीकार गरेको उनको भनाई छ । ‘जागिर खाएकै छोटो अवधि भएकोले अनुभवमा खारिन धेरै बॉकी छ’, उनले भनिन्, ‘यस्तै बेला निर्वाचनमा जिम्मेवारी भुमिकामा खटिनु पाउ‘दा उत्साहित पनि बनेकी छु ।’ दोस्रो चरणको निर्वाचनमा ३ सय ३४ मतदान केन्द्र मध्ये संभवत कान्छो उमेरका मतदान अधिकृत मध्ये ओझा पनि एक हुन् ।
त्यसो त उनी जीवनमै पहिलो पटक निर्वाचनमा मतदाता समेत हुन् । तर निर्वाचनमा खटिएपछि मतदान गर्न भने नपाउने भएको बताइन् । धनगढीको चौराहा घर भएकी उनी पहिलो पटक मतदान गर्न नपाउँदा भने खल्लो महशुस भएको बताउँछिन् । ‘सबैले भोट हाल्ने उत्साहा जगाएको देख्दा रमाइलो लागिरहेछ’, उनले भनिन्, ‘तर मतदान गर्न नपाएपनि जिम्मेवारी भूमिकामा रहेकोले खुसीकै रुपमा लिएको छु ।’ आफ्नो केन्द्रमा खटिएका अन्य कर्मचारीको सहयोगी भुमिकाले पनि काममा सहज लागेको उनको भनाई छ ।
दुई वटा मतदान केन्द्र रहेको उक्त स्थानमा ‘क’ केन्द्रको मतदान अधिकृतको रुपमा ओझा रहेकी छिन् । यसैगरी ‘ख’ केन्द्रमा खटिएका मतदान अधिकृत ५८ वर्षीय ईश्वरीप्रसाद रेग्मी र ओझाबिचको अर्को अनौठो संयोग रहेको छ । ओझाको जागिर सुरु पाँच महिना र रेग्मीको जागिर सकिने समय पँच महिना छ । आगामी मंसिरमा जागिरबाट उमेर हदका कारण निवृत हुन लागेका छन् । ओझाले पहिलो पटक निर्वाचनमा खटिने अवसर पाएकी छिन् भने रेग्मीले यस अघि कयौं निर्वाचनमा खटिएर अनुभव संगालिसकेका छन् । पञ्चायतकालदेखि हालसम्म उनी निर्वाचनमा खटिदै आएका छन् । २०४३ मा स्थानीय निकायको निर्वाचनदेखि हालसम्मका सबैजसो निर्वाचनमा उनले विभिन्न भूमिका निर्वाह गरिसकेको बताए ।
यसैगरी सदरमुकाम लगायत जिल्लाका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । जिल्लाका कुल १ सय ४३ मतदान केन्द्रमा ५ सय ५८ कर्मचारी खटाइएको निर्वाचन कार्यालयका सुचना अधिकृत केशव पौडेलले जानकारी दिए । निर्वाचनमा खटिएका मध्ये ओझा जिल्लामै सबैभन्दा कान्छी मतदान अधिकृत रहेको पनि पौडेलले बताए ।