काठमाडौँ । प्रहरीले बालिकाको बलत्कार गरी हत्या गर्ने वाइसिएलका नेतालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रहरीले बलत्कार गरी हत्या गर्ने रामेछापका श्याम राउतलाई सार्वजनिक गरेको हो । राउत रामेछापका वाइसिएल नेता हुन । पाँच बर्ष अघि रामेछापको तत्कालिन सैपु गाविस १ सिरिसेमा बलात्कारपछि हत्या भएको घटनाका मुख्य अभियुक्त राउतलाई पक्राउ गरी मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाले काठमडौँको महेन्द्र पुलिस क्लबमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो । २०६८ माघ ५ गते १४ बर्षीया बालिका सुन्तली तामाङलाई अभियुक्त श्याम राउतले बलात्कार गरी हत्या गरेर सुन्तलीलाई लिखु खोलामा बगाइदिएका थिए ।
घरबाट घाँस काट्न निस्केकी सुन्तलीको शव १४ दिन पछि फेला परेको थियो । प्रहरीले उक्त हत्या काण्डमा संलग्न रहेका राउतलाई पक्राउ गरेको भएपनि अनुसन्धान नै नगरी छाडिदिएपछि अभियुक्त भाग्न सफल भएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिए । तत्कालिन रामेछापका प्रहरी प्रमुख सञ्जिव शर्मा दासले घटनाको अनुसन्धान नगरेको कारण उक्त घटनाले राष्ट्रव्यापी रुपमा चर्चा पाएको थियो । तीन महिना अघिबाट पुनः अनुसन्धान गरेको प्रहरीले अभियुक्तलाई हिजो असार ११ गते रुपन्देहीको नेपाल भारतसीमा बाट पक्राउ गरेको हो । रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेल बलत्कारी समात्न आफैँ रुपन्देही पुगेका थिए । प्रहरी घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।