व्यस्त दैनिकीले नैतिक दिनहुँजसो थकित हुन्छ । परिवारलाई राम्रोसँग समय दिन सकेको छैन उसले । अब त उसलाई, घर परिवारभन्दा पनि काम नै प्रिय लाग्न थालिसकेको छ । बेलुका घर जाँदा बच्चाहरु सुतिसक्छन अनि आफू बिहान घरबाट निस्किँदा उठेकै हुँदैनन् । कसैको पिता भएर पनि पिता हुनुको महसुससम्म थिएन उसलाई ।
श्रीमतीको सामीप्यताको आवश्यकताले उसले एकरात निदाएकी श्रीमतीलाई बिउँझायो । श्रीमानको चाहना पूरा गरेको मौकामा सीमाले भनी, “बिहेपछि हामी एकै दिन बाहिर घुम्न गएक छैनौँ, हजुरसँगै पानीजाहाजमा घुम्न मन छ, जाउन है ।
हामीलाई नपुग्दो के छ र ? तपाईंको व्यस्ततालाई बुझेर नै आजसम्म केही भनिनँ मैले ।” सीमाले एकै सासमा भनी । अँगालोमा बेरिएकी सीमालाई घचेट्दै नैतिक कड्कियो “राति सँगै छौँ त हामी, अनावश्यक डिमान्ड नगर है !” भन्दै अर्कोतर्फ फर्किएर घुर्न थाल्यो नैतिक ।
के लोग्नेस्वास्नीको सँगैको साथ भनेको ओछ्यानमा मात्र सीमित हुनु हो त ? लोग्नेको शब्द प्रहारले बिछिप्त भएकी सीमाका अश्रुझरीले भिजेको सिरानी अर्कोतिर पल्टाउँदै निदाउने कोसिस गर्छे ऊ । भावना प्रसाईं
समय त्यसरी नै बित्दै जान्छ । कामको सिलसिलामा नैतिक लन्डनमा छ अहिले । मिटिङ सकेर उसलाई अरु साथीले पानी जाहाज चढ्न लैजान्छन् । पानी देखेर रोमाञ्चित भएको नैतिकका आँखा टेबलको एउटा कुनामा बसेको अन्दाजी साठी वर्षको पुरुषमाथि परे ।
ऊ एक्लै थियो र धेरै गम्भीर पनि देखिन्थ्यो । दुइटा ग्लासमा वाइन भर्दै गरेका ती बृद्धलाई नैतिकले हेरिरह्यो । उसलाई त्यो दृश्य अनौठो लाग्यो । उक्त पुरुषको टेबलमा एउटा तस्बिर पनि थियो । आफूले भरेको वाइनको ग्लास तस्बिरसामु राख्दै चाउरिएका पातला ओठ हल्का तन्काउँदै उसले वाइनको चुस्की लियो । नैतिकले आफूलाई रोक्नै सकेन ।
वाइन पिउँदै सम्झनामा हराइरहेको पुरुषसामु गएर केही सोध्यो । नैतिकका आँखाबाट आँशुको बाढी आउन थाल्यो । “म र उनको सँगै पानीजाहाजमा समुन्द्र हेर्ने रहर थियो । उनी रहर पूरा गर्न मसँगै छैनन् आज, मुन बनेकी मेरी उनीलाई मैले यतिखेर जाहाजमा घुमाइरहेको छु ।”ती वृद्धको कुराले नैतिक साँच्चै नैतिकवान बन्यो । केही बेर मौन रह्यो, अनि सीमाले फोन नउठाएसम्म निरन्तर कल गरिरह्यो गरिरह्यो । लघुकथा