काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको एक साताभित्र राजपालगायत मधेसी मोर्चाको माग पूरा गराइछाड्ने प्रतिबद्धता जनाए पनि वाचा पूरा गर्न नसकेको स्विकार्दै फेरि अर्को सहमतिको प्रयासमा जुटेका छन् ।राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र नेता अनिल झासँग बुधबार देउवाले भेटवार्ता गर्दै प्रधानमन्त्री बनाउन र चयनका समयमा राजपाले खेलेको निर्णायक भूमिकाको गुन तिरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।
एक साता तराई बसेर राजधानी फर्किएका नेताद्वय ठाकुर र झासँग देउवाले राजनीतिक सहमति, सहकार्य र एकताको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेताबीच देशलाई निकास दिन आवश्यक पहलकदमीबारे छलफल भएको जानकारी राजपाका अध्यक्ष मण्डलका नेता झाले दिए । उनले अन्नपूर्णसँग भने, ‘सहमतिका लागि गम्भीर रूपमा प्रस्तुत हुनुभएको प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजपाका सबै माग पूरा गराइछाड्ने पुनः प्रतिबद्धता जनाउनुभयो ।
देउवाले आफू प्रधानमन्त्री हुने बेलामा गरेको सम्झौता नबिर्सिएको र कार्यान्वयन गराएरै छाड्ने, प्रमुख प्रतिपक्षी दललगायत विपक्षीसँगको वार्ता अघि बढाउने वचन दिएका थिए । देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठाकुरजी मलाई केही समय दिनुहोस्, तपाईंहरूको माग पूरा गर्न म गम्भीर छु, मन्त्रिपरिषद्बाट राजनीतिक माग पूरा गर्छु । प्रधानमन्त्री देउवाले प्रदेश नम्बर दुईमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्न पनि आफू प्रतिबद्ध रहेको र सोअनुसार आवश्यक गृहकार्य भइरहेको बताएका थिए ।
स्थानीय निर्वाचन सम्पन्न भएपछि संविधान सर्वस्वीकार्य हुन्छ ।
प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सक्दो प्रयास गर्ने र एमालेलाई पनि सहमतिमा ल्याउन पहल गर्ने बताएका छन् । देउवाले आफू चौथो पटक प्रधानमन्त्री भएको र यो नै आफ्ना लागि अन्तिम मौका भएकाले समस्या समाधान गराइछाड्ने वचन दिएको जानकारी झाले दिए । प्रधानमन्त्री देउवाले आफू नहुने कुरा बोल्दै नबोल्ने तर बोलिसकेको कुरा पूरा गरेरै छाड्ने बताउँदै सबै माग पूरा हुने बताए ।
देउवाको भनाइप्रति टिप्पणी गर्दै राजपा अध्यक्ष ठाकुरले आफूले कांग्रेसमा लामो समय राजनीति गरेको र कांग्रेसलाई राम्ररी चिनेको उल्लेख गर्दै देउवाको नेतृत्वमा समस्या समाधान हुन कठिनाइ देखिएको भन्दै अब प्रधानमन्त्रीको बोली होइन कार्यान्वयन आवश्यक रहेको स्पष्ट गरेका थिए । ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंको नेतृत्वमा अझै पनि समस्या समाधान हुन्छ भन्नेमा म विश्वस्त छैन । झापादेखि कञ्चनपुरसम्म हामी दुई प्रदेश चाहन्छौं, तर यसको मुख्य विरोधी त तपाईं नै हो नि, अनि कसरी समाधान होला त समस्या ?
मधेसलाई दुई प्रदेश गराउने हिम्मत भए तपाईं नै कैलाली र कन्चनपुरलाई २ नं। बनाउने कुराको बाधक हुनुहुने थिएन भन्दै ठाकुरले देउवालाई चुनौति दिनुभएको दाबी स्रोतले गरेको छ । ‘ठाकुरजी, तपाईं त मेरो नेता हो, मलाई सहयोग गर्नु तपाईंको पनि कर्तव्य हो भन्दै मधेसमा मात्र नभएर राष्ट्रकै लागि आवाज उठाउन सघाउनुहोस्, भन्दै देउवाले ठट्टा गर्नुभएको थियो ।
अन्नपूर्णपोष्ट बाट