शिव तिवारी/
बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालीकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ बर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा बिशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ बर्ष देखी सन्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर स्वयम सेबक शिक्षकहरु मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो ।
एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ बर्ष अघि सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालीकाहरुको उल्लेख्य सहभागिता रहेको छ । नेपाली भाषा कक्षाका संयोजक प्रकाश जिसिले बालबालिकाहरु नेपाली भाषा प्रस्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै हिजोआज झनै प्रभाबकारी भइरहेको बताउनु भयो । नेपाली भाषा कक्षामा ३ देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी पठन पाठन हुँदै आएको छ । नेपाली भाषा, कला, संस्कृती, साहित्य र नेपाली पहिचान संबन्धी ज्ञान लिन बालबालिकाहरु पनि उत्सुक देखिएका छन । नेपाली भाषा कक्षा अध्यापनको लागि नेपालमा रहॅदा शिक्षण पेसामा लागेर अनुभब हासिल गरेका ब्यक्तीहरुको संलग्नता रहदै आएको छ ।
प्रकाश जिसिको संयोजकत्वमा मिन भट्ट, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, बिजय सिग्देल्, सागर सिम्खडा, शिव तिवारी लगायत आबद्द हुनुहुन्छ। प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालन ल्याएको भए पनि भर्खरै ‘द नेसनल लोटरि’ नामक संस्थाद्वारा बर्ष २०१७/२०१८ को लागी झन्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको भन्दै खुशी ब्यक्त गर्नु भयो । उहाँले प्राप्त रकम प्रभाबकारी योजना सहित बालबालिकाहरुको बृहत्तर बिकाशमा खर्च गरिने बताउनु भयो । स्कटलैण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपत पर्दा समेत सहयोग गर्दै आएको छ । स्मरण रहोस्, पछिल्लो पल्ट नेपालमा गएको महाभुकम्पको बेला संस्थाले स्थानिय नेपालीहरुबाट संकलन गरी प्रधानमन्त्री राहत कोषमा नेपाली २६ लाख भन्दा बढी रकम पठाएर सहयोग गरेको थियो ।
sitalpati