२०४७ सालको संविधानपछि अनि माओवादी जनयुद्धको समापन भएर संविधान आउनुअघि नेपाली राजनीतिका दुर्इ कालखण्डमा निकै राजनीतिक प्रयोग र घटना परिघटना भए ।
ती समयमा मूलत: भइरहेका पार्टीहरूले आफ्नो पुरै समय र ऊर्जा शक्ति प्राप्त गर्न र शक्तिमा टिकिरहन कुसंस्कृत राजनीतिको अभ्यास गरे । खराब राजनीतिक संस्कार र परिपाटी, अस्थिरता अनि कम्जोर व्यवस्थापनले गर्दा जनतामा सेवा पुर्याउने र देशको विकास गर्ने कुरा सधैँ पछि पर्यो । युवाहरू निराश भए, विदेशिए; देशमा बस्ने जनताको जीवन मूल्यबृद्धि, कम्जोर नियम कानून र सुशासनले गर्दा झन् खस्कियो । त्यसमाथि महाभूकम्प अनि नाकाबन्दीपछि त अहिलेका पार्टी, नेता र सरकारको असक्षमता झन् धेरै उजागर भयो ।
त्यही समयमा केही विवेक भएका युवाहरू आफैं विकल्प बन्नु पर्ने रहेछ भनेर संगठित पनि भए । समाजका बेथितिहरूबाट चिमोटिएर केही सक्षम व्यक्तिहरू हुँदाखाँदाको आफ्नो पेशा छोडेर राजनीतिमा होमिए । संविधानसभाबाट संविधान जारी भइसकेको अवस्था र स्थानीय निकायको चुनाव हुने लगभग पक्का हुन लागेको अवस्थामा नयाँ उदाएका केही व्यक्ति र पार्टीको यहाँ चर्चा हुन जरुरी छ ।
जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व को विकास गरेर शान्त समृद्ध नेपाल बनाउन लागिपरेका विवेकशील नेपाली युवाहरूको दल विवेकशील नेपाली र पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताका लागि भर्खरै बनेको साझा पार्टीको शीघ्र संगठनविस्तार र महत्वाकांक्षी योजनालाई सबैले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
रवीन्द्र मिश्रज्यूको पार्टी शिशु अवस्थामै भएकाले त्यति धेरै काम हेर्न पाइएको छैन । तर, उहाँको विश्लेषण, नेपाललाई फेर्न अब राजनीति नै सुसंस्कृत हुनुपर्छ भन्ने ठम्याइ र एकै पुस्ताभित्र नेपालको रुपान्तरण गर्ने लक्ष्य बिबेकशील नेपाली पार्टीको जस्तै छ । उज्वल थापाले नेतृत्व गरिरहनुभएको विवेकशील पार्टीले त कुरा वा नामले मात्र होइन, कामले पनि पारदर्शिता, उद्यमशीलताको प्रवर्द्धन गर्ने कार्यक्रमहरू र भूकम्पताका शीघ्र कुशल व्यवस्थापनको नमुना देखाएर आफूलाई सक्षम प्रमाणित गरिसकेको छ ।