२२ वर्षे रम्भाको जीवनचक्रः ११ बर्षमै बिहे, १४ बर्षमा आमा

२८ चैत, डोटी । डोटी केआइ सिंह गाउँपालिकाकी रम्भा कामी अहिले २२ बर्षकी भइन् । जीवनको सबैभन्दा उर्जाशील यो उमेरमा तपाईंका छोरीचेली के गर्दैछन् ? पढिरहेका होलान्, स्वाभलम्बी बनिसके होलान् या घरजम गर्ने तयारीमा होलान् ।

तर, सुदूरपश्चिमकी रम्भा २२ बर्षको उमेरमा चार सन्तानकी आमा बनिसकेकी छन् । यो सामान्य कुरा हो । तर, असामान्य कुरा चाहीँ के हो भने ११ बर्षको नावालिग उमेरमै उनको बिबाह भयो भने १४ बर्षको उमेरमै उनी छोरीकी आमा बनिन् । उनका चार सन्तान छन् ।

रम्भाको अवस्थालाई हेर्दा नेपालमा बालबिबाहको अवस्थालाई झल्काउँछ । कमजोर आर्थिक अवस्था, सामाजिक जटिलता र जनचेतनाको अभावका कारण मुलुकका बिकट क्षेत्रमा बालबिबाह र त्यसले निम्त्याउने मातृशिशु मृत्युदरको अवस्था डरलाग्दो छ ।

‘मेरा फुपाज्यू नाता पर्ने एक जनाले बिस्कुट र चाउचाउ दिन्छु हिडँ साली मेरो घर जाउँ भन्नुभयो, म पनि चाउचाउ र बिस्कुट पाएपछि खुशी भएर उहाँसँगै आएँ । मेरो त बिहे पो भइसकेछ !’ रम्भाले ११ बर्षअघिको क्षण सम्भिmइन् । जतिबेला उनलाई बिबाह भनेको के हो भन्नेसम्म पनि थाहा थिए ।

नेपालको कानूनले २० बर्षको उमेर पुगेपछि मात्र छोरीको बिबाह गर्नुपर्ने व्यवस्था गरेको छ । चिकित्सकहरुले पनि महिलाहरुको जनेन्दि्रय पूर्ण रुपमा बिकसित हुने उमेर २० बर्ष भएकाले त्यसपछि मात्र बिबाह गर्न सुझाउँछन् । डोटीको बिकट गाउँकी रम्भाको बल्ल बिबाह गर्ने उमेर भएको छ, तर उनी चार सन्तानकी आमा बनिसकेकी छन् ।

बोगटान गाउँपालिका (साबिकको सिमचौर गाबिस-६) झ्याम्तोलामा जन्मिएकी रम्भाको बाल्यकाल किन्नै कष्ठप्रद बन्यो । बाबुले अर्को बिबाह गरेपछि पाँच छोराछोरीको बिचल्ली भयो । उनी जेठी छोरी हुन् । २ कक्षासम्म अध्ययन गरेकी उनले आर्थिक अभावका कारण पढाइ छोढ्नुपर्‍यो । सायद यस्तै अवस्थाले गर्दा आफन्तले उनको बिहे जुराइदिएका थिए ।

‘बिद्यालय छोडेर घरायसी काम गर्न लागेका बेला एक दिन घरमा फुपाज्यु नाता पर्ने सहित दुईजना आउनु भयो’ उनी भन्छिन् ‘घरमा केे कुरा भयो मलाई थाहा भएन । भोलिपल्ट मलाई एक्लै बोलाएर चाउचाउ र बिस्कुट दिने बहानामा यतै ल्याएर आउनु भयो ।’

तीन बर्षसम्म उनी जन्मघर जान सकिनन् । ‘आफु सानै थिएँ, एक्लै कसरी जानु ?’ उनी भन्छिन् ‘घरकाले कुनै वास्ता गरिदिएनन् ।’ बिहे गरेको तीन बर्षपछि जेठी छोरीसहित पहिलो पटक माइ्तीघर गएको उनी सम्झझिन्छिन् ।

रम्भाका श्रीमान् गोमन्ाधोज कामी अहिले ३२ बर्षका भए । ‘पहिले पहिले भारत गएर पैसा कमाउनुहुन्थ्यो, आज भोली घरमै बसेर काम गर्नुहुन्छ’ रम्भा भन्छिन् ‘उहाँ पनि लेखपढ गर्नु भएको छैन, मजदुरी गरेरै गुजारा गर्नुहुन्छ ।’

बिहे गरेको तीन बर्षमा जन्मिएकी जेठी छोरी सर्मिला ९ बर्षकी भइन् । ‘उ यतैको बिद्यालयमा कक्षा-२ मा पढ्छे’ रम्भाले भनिन् ‘माइलो छोरा दुर्गाराम ५ बर्षको भयो ।’ तीन बषर्ीया निर्मला र डेढ बर्षकी डम्मरा गरी रम्भाका तीन छोरी र एक छोरा छन् । ‘सर्मिला घर छ्याप्नका लागि माटो ल्याउन गएकी छे’ सँगै रहेका तीन छोराछोरीलाई देखाउँदै रम्भाले भनिन् ‘तीन यिनै हुन ।’

आफ्नो गाउँघरतिर प्रायः यस्तै हुने गरेको रम्भाको भनाई छ । बढी जसो भागेर, लोभमा परेर र अरुको लहलहैमा लागेर कलिलै उमेरमा बिहे गर्ने गरेको उनको भनाइ छ । ‘त्यति बेला बिहे के हो भन्ने कुरा पनि थाह भएको हुँदैन’ उनले भनिन् ‘मेरो उमेरका करिब करिब सबै दिदी बहिनीहरुले तीन/चार छोराछोरी छन ।’

आफै बालबिवाहमा परेकी रम्भालाई बालबिबाह के हो भन्ने बारेमा जानकारी छैन, न त उनको टोलमा कसैले बालबिवाहको बारेमा चर्चा गरेका छन । रम्भाले भनिन ‘कोही पनि आएका छैनन् मलाई र मेरो टोलमा बस्नेहरुलाई बालबिबाह रोक्नु भनेर जानकारी दिन ।’ अनलाईन खवरसंग कुरा गर्दै उनले प्रश्न गरिन् ‘यस बारेमा जानकारी दिने कोही छैनन् सर ?’

बालबिवाहबाट भोग्नु परेको पीडा सम्झँदै रम्भा भन्छिन् ‘बालबिवाहबाट पर्ने असरका बारेमा कसैले बताइदिए म अरुलाई पनि सम्झाउने थिएँ ।’

जिल्ला बाल कल्याण समिति लगायत डोटीमा थुप्रै संघसंस्थाहरुले काम गर्दै आएका भए पनि बालबिवाह अझै रोकिएको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार