चलचित्र ‘द यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्रको निर्देशनमा हात हालेका निर्देशक दिपेन्द्र के खनाल फरक बिषयमा चलचित्र बनाउने निर्देशकको रुपमा चिनिन्छन् । ‘चपली हाइट, पशुपति प्रसाद’ जस्ता चलचित्र बनाएपछि उनको चर्चा चुलिएको छ । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । उनै, दिपेन्द्रलाई अनलाइनखबरलाई लगाएको ५ आरोपः
१. बजारले धान्ने भन्दा धेरै पारिश्रमिक माग्नुहुन्छ भन्ने आरोप छ ?
मैले बजारले धान्ने भन्दा धेरै पारिश्रमिक मागेको छैन । एउटै चलचित्रमा एकत्रित भएर काम गर्ने मेरो बानी छ । एउटा मात्रै चलचित्रमा पुरै केन्द्रित भएपछि पारिश्रमिक त चाहिन्छ नै, अर्को कुरा मैले निर्देशन गरेको चलचित्रलाइ अन्तराष्ट्रिय बजारमा बेचेर निर्मातालाई केहि रकम ल्याइदिन्छु भने मैले पनि त पारिश्रमिक पाउनुपर्छ ।
२. ‘पशुपति प्रसाद’ भन्ने टे्रडमार्कलाई अझै बेच्दै हुनुहुन्छ भन्नेलाई के भन्नुहुन्छ ?
यो निराधार आरोप हो । मैले कहिल्यै कुनै पनि चलचित्रको टे्रडमार्क बेच्ने गरेको छैन । कुनै पनि चलचित्र चलोस् वा नचलोस्, नयाँ चलचित्रमा काम गर्दा म बिल्कुल नयाँ हुन्छु । मेरो बारेमा समाचार लेख्दा ‘पशुपति प्रसाद’को निर्देशक भनेर नलेखिदिनु भनेर मैले धेरै मिडियाका साथीहरुलाई आग्रह गर्ने गरेको छु ।
३. ‘चपली हाइट’बाट चलचित्रमा यौनलाई स्थान दिनु भयो भन्नेहरु पनि छन् ?
चलचित्रमा त्यस्तो यौनजन्य केहि पनि छैन । मात्रै चलचित्र रिलिज हुनु अघि आएको पोष्टरले त्यस किसिमको हल्ला भएको हो । उक्त चलचित्रमा मैले यौन हिंसामा परेकी युवतिको चरित्रलाई प्रस्तुत गरेको छु । यदि त्यो चलचित्र अहिले बनेको भए कसैले पनि त्यस्तो टिप्पणी गर्दैन थियो । पाँच वर्ष अगाडि हाम्रो समाज अहिले जस्तो खुल्ला भैसकेको थिएन ।
४. खगेन्द्र लामिछानेको साथ छोड्न सक्नु भएन भन्नेहरुलाई के भन्नुहुन्छ ?
खगेन्द्रजी मात्रै हैन । म कुनै पनि राम्रो कलाकारको साथ छोड्दिनँ । अर्को कुरा खगेन्द्रजी र मेरो स्वभाव मिल्छ, उहाँ पनि म जस्तै जाँड रक्सि खानुहुन्न । स्वभाव मिल्ने साथीसँग काम गर्दा मज्जा आउँछ ।
५. फेरि कुरा ‘पशुपति प्रसाद’कै गरौ, उक्त चलचित्रले तपाइलाई कम र खगेन्द्रलाई धेरै चिनायो भन्छन् नि ?
यो स्वभाविक हो । ‘पशुपति प्रसाद’को कथा मेरै हो, निर्देशन मेरै हो तर, म पर्दा पछाडी भएँ । खगेन्द्र, भष्मे लगायतलाई दर्शकले देखे । कुनै पनि चलचित्रवाट निर्देशक भन्दा कलाकार बढी चर्चित हुनु स्वभाविक पनि हो ।