२९ चैत, रेसुङ्गा (गुल्मी) । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्रकारका वन्यजन्तु, ४० प्रकारका पक्षी बसोबास गर्ने विविधतायुक्त स्थल हो ।
प्राचीनकालदेखि ऋषिमहर्षिले तपस्या गरेको यो स्थल धार्मिक पर्यटनको समेत उत्कृष्टस्थल भएको गुल्मीका पर्यटन व्यवसायी एवम् होटल व्यवसायी मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए ।
अत्यन्त मनोरम हिमाली तथा पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलको आवश्यक प्रचारप्रसारका साथै अत्यावश्यकीय पूर्वाधार विकास गर्नसकिए रेसुङ्गालाई स्वदेशी एवम् विदेशी पर्यटककको आकर्षक गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।
समुद्री सतहबाट २,३४७.२ मिटरको उचाइमा रहेको रेसुङ्गाको चुचुरोमा प्राचीन सिद्धस्थान छ । यस स्थानमा साउन महिनामा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवललगायतका स्थानबाट भक्तजन सिद्धको दर्शनका लागि आउने गर्दछन् ।
सिद्धको पूजा गरेपछि मानिसलाई आयु आरोग्य प्राप्त हुने, गाईभैँसी सधैँ दुहुना हुने, अनिकाल हट्ने, अतिवृष्टि र अनावृष्टि रोकिने, सुख, समृद्धि र सम्मुन्नति हुने जनविश्वास छ ।
“रेसुङ्गा आसपासका क्षेत्रमा सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालाजस्ता अत्यन्त दर्शनीयस्थल रहेका छन्,” भण्डारीले भने – “यी स्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नसके मात्र पनि समग्र जिल्लाकै आर्थिक समृद्धिमा यी स्थानले विशिष्ट योगदान गर्न सक्छन् ।”
रेसुङ्गाको पोखरीमा साउन महिनाभर स्नान गर्ने प्रचलन रहेको होटल व्यवसायी मञ्च गुल्मीका उपाध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।