१२ वर्षीया गर्भवती बालिकालाई प्रसुति गराउन प्रधानमन्त्रीले काठमाडौं बाेलाए

-कृष्ण सारु मगर
हेटौंडा : १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो ।

हेटौंडा अस्पतालमा स्वास्थ्य गंगामायाको स्वाथ्य परिक्षण गरिँदै । तस्बिर : कृष्ण सारु

प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

‘चेपाङलाई काठमाडौंस्थित प्रसुतिगृहमा लगिएको छ’, उनले भने, ‘सरकारले ती बालिकाको उपचारमा लाग्ने सबै खर्च समेत व्यहोर्ने भएको छ ।’ हेटौंडा अस्पतालले ३३ हप्ताको गर्भवती चेपाङको पाठेघर तल खसेकाले चिकित्सकको निगरानीमा प्रसुति गराउनुपर्ने भएकाले अस्पतालमै राख्नुपर्ने सुझाव दिएको थियो । उपचारमा संलग्न हेटौँडा अस्पतालका डा. निशा राईले बाल अवस्थामा गर्भवती भएकोले अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन् ।

चार कक्षमा अध्ययन गरिरहँदा उनले गत वर्ष भागेर बिवाह गरेकी थिइन् । उनका श्रीमान् रञ्जित चेपाङले छाडे पनि पछिल्लो समय सम्पर्कमा रहेको आमा राममाया बताउँछिन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्कइदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै थिइन् ।

पहिलो पटक हेटौंडा आएकी उनले घरमा बस्दा कुनै समस्या नभएको र सामान्य कामहरु समेत गरिरहेको बताइन् । एक वर्षअघि भागेर बिवाह गरेकी गंगामाया गर्भवती भएपछि आमासँग बस्दै आएको बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार