दशैं विशेष फिल्मः ‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दर्शकको मन !

‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढार्इ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढार्इ पनि हुन्छ !’

सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली फिल्म ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो फिल्मले यसपटकको दशैँमा दर्शकको मन जित्न सफल भएको हो ।

यही अवधिमा प्रदर्शन भइरहेको अर्को नेपाली फिल्म ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घन्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घन्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ ।

सामाजिक यथार्थलाई जीवन्त र हाँस्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल (मल)मा यी दुई फिल्म हेर्नेको भीड देखिन्थ्यो । दुबै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुबै फिल्म हेर्न छोडेनन् । विदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम फिल्म पनि भएकाले पनि यी दुई फिल्म चलेको देखिन्छन् ।

यसबीचमा चलेका कतिपय हिन्दी फिल्मलाई भन्दा यी दुई नेपाली फिल्मलाई दर्शकले बढी रुचाएको पाइएको नेपाल फिल्म विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताइन् । ‘‘विगत चार वर्षदेखि दशैँका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’’ पौडेलले भनिन्।

‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा !’ जस्ता मनोरञ्जनात्मक गीतसमेत यो फिल्ममा समावेश छ । बक्स अफिस प्रणाली लागू भएपछि कुन फिल्मले हालसम्म कति व्यापार गरेको छ भन्ने एकिन विवरण वितगमा जस्तो सार्वजनिक हुँदैन । निर्माता र निर्देशकले आफूखुसी धेरै व्यापार भएको प्रचार गर्ने तर फिल्मको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक फिल्म घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना सङ्कलन गरिन्छ ।

‘छक्कापञ्जा’ फिल्मको शृङ्खलावद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिका खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ । घटस्थापनाको दिनदेखि चालू यो फिल्म बजार पाएको र दर्शकले माया गरेकामा प्रशन्न हुँदै निर्देशक निरौला भने, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली फिल्मलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौँ ।’

फूलपातिका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिका खड्का, सलोन बस्नेत, बुद्धी तामाङलगायतका कलाकार रहेको यो फिल्ममा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार