जसस पोर्तुगलको पाँचौ अधिबेशनमा हमाल र सापकोटाको शक्ति प्रदर्शन – गैरे गले , घिमिरे बले, गौतम अझै अडिग !

गणेश पाण्डेय / सुरेश जोशी , लिस्बोन ।

नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशनको संघारमा यहाँका काँग्रेसीहरुलाई राजनीतिक चटारो लागेको छ । जनसम्पर्क समितिको पाँचौ अधिबेशनलाई सबैले संस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल र बर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा बिचको शक्ति प्रदर्शनको रुपमा हेरेका छन्।

सर्वाधिक चासोको रुपमा हेरिएको अध्यक्ष पदका लागि सुशील शर्मा गैरे, बिनोद घिमिरे र राजकुमार गौतमले उम्मेदवारी दिएका छन् । गैरेलाई संस्थापक अध्यक्ष हमाल , घिमिरेलाई बर्तमान अध्यक्ष सापकोटा र गौतमलाई महासमिति सदस्य चिजकुमार तामाङ्को साथ , समर्थन र लबिङ् रहेको बिशेष श्रोतको दाबी छ।

पछिल्लो समयमा संस्थापक अध्यक्ष हमालको पारिवारिक किचलोको साथै र पोर्तुगलमा नेपालीहरुमाथि भएका मारपिट र हिंसाका घटनामा प्रत्यक्ष , अप्रत्यक्ष संलग्नता, साथ समर्थन रहेको र दादागिरी गरिहिड्नेलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ, जसले गर्दा हमालको सामाजिक छबि बिग्रनुको साथै पार्टीमा रहेको बर्चस्व कमजोर बन्दै गएको छ। अर्कातिर नरम मिजासका मानिएका बर्तमान अध्यक्ष सापकोटाको जनमत र लोकप्रियता र सामाजिक छबि बढ्दो छ। महासमिति सदस्य तामाङ्को यहाँको समाजमा खासै प्रभाव देखिदैन , उनलाई सामान्य रुपमा हेरिन्छ।

अध्यक्ष पदका उम्मेदवारहरुको छबि, कार्ययोजना, भिजन र पार्टीमा रहेको योगदानको मुल्यांकन भन्दापनि कसको लागि कसले लबिङ् गरिएको छ, त्यसले निर्बिरोध हुने वा निर्वाचनमा जाने र जितहारको निर्णय गर्ने जानकारहरु बताउछन।

२०१० मा पोर्तुगल आएका सुशील शर्मा गैरेसँग सन् २०१२-२०१५ र २०१५-२०१८ गरी दुई पटक उपाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ र उनी संस्थापक अध्यक्ष पुर्ण बहादुर हमालका सबैभन्दा निकटका व्यक्ति ठानिएका छन् ।

त्यस्तै सन् २००७ मा पोर्तुगल आएका बिनोद घिमिरेसँग शुरुका बर्षहरुमा पत्रकारको रुपमा चिनिएतापनि २००८-२०१२ कार्यसमिति सदस्य तथा २०१२-२०१५ र २०१५-२०१८ मा दुई पटक महामन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ र उनी बर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाका निकटतम र छनौटमा परेका उम्मेदवार मानिन्छन् ।

सन् २००७ मै पोर्तुगल आएका राजकुमार गौतम: २००८ मा जनसम्पर्क समिति पोर्तुगलको उपसभापति हुँदै २००९-२०११ सम्म कार्यवाहक सभापति भएर पार्टी सम्हालेको अनुभव छ। पार्टीमा व्यक्तिवाद र संस्थापक अध्यक्ष हमालको परिवारवाद हावी भएको भन्दै २०१५ मा पार्टीभित्रै बिद्रोह गरेका गौतम महासमिति सदस्य चिजकुमार तामांगका प्रिय पात्र मानिन्छन् ।

प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको बैदेशिक संगठन जसस पोर्तुगलका संस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल पार्टीभित्र निरङ्कुश प्रवृत्तिका रुपमा चिनिन्छन। पार्टी र आफ्ना मातहतका सामाजिक संगठनमा कुनैबेला बलियो पकड बनाएका र आफुले चाहेको निर्णय शाम, दाम, दण्ड भेद प्रयोग गरी गराई छाड्ने हमाल पछिल्लो समयमा पार्टी र समाजभित्रै निकै कमजोर भएका छन् र उनको पकड कमजोर हुदै गएको छ, यसले गर्दा उनले भित्रिरुपमा कडा लबिङ् गर्दै आएका अध्यक्षका उम्मेदवार सुशील शर्मा गैरेको पकड पनि कमजोर हुदै गएको र मनोबल गिरेको छ र गैरे गलेका छन् ।

अर्कोतिर यसको फाइदा अध्यक्ष पदका अर्का उम्मेदवार बिनोद घिमिरेलाई परेको छ। पोर्तुगलमा शुरुका दिनमा हमालका निकट मानिएका घिमिरे पछिल्लो समय वर्तमान अध्यक्ष सापकोटाका निकटतम मानिन्छन, सापकोटाका प्रिय पात्र र छनौटमा परेका घिमिरे अधिकाँस मतदाताका पनि प्रिय नेता मानिन्छन।

अध्यक्षका अर्का प्रत्यासी राजकुमार गौतम एक निडर नेता र व्यक्तिवादी र परिवारवादी बिरुद्ध खरोरुपमा उत्रने बिद्रोही स्वभावका छन्। गौतमको लबिङ्मा माहासमिति सदस्य तामाङ्को खासै प्रभाव नदेखिएतापनि कुनै व्यक्तिको पावरमा कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नगर्ने, कुनै सम्झौता नगर्ने र पारिवारिक सिन्डिकेट तोड्न अन्तिम अवस्थासम्म पनि निर्वाचनमा नै जाने र आफु अडिग रहने जानकारी भोइस अफ नेपाललाई प्राप्त भएको छ।

त्यस्तै युरोपनेपाली डटकमका सम्पादक सञ्चारकर्मी भगवान गिरी भन्छन ” नेताहरु तथा सामाजिक अभियन्ताहरु आफै रोल मोडेल, नैतिकवान र चरित्रवान हुनुपर्छ । चरित्रहीन र नैतिकता गुमाएकाहरुबाट समाजले के सिक्ने ? ”

सकेसम्म सहमति गराउने गरी एउटा गोप्य हाइकमाण्डको समूह निर्माण गरिएको छ , जसमा जसस बर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, एनआरएन अध्यक्ष कुबेर कार्की, नारी समाज अध्यक्ष सीता बराल, जसस पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल र पर्यटनदुत रमेशकुमार गुरुङ रहेको बुझिएको छ।

हाइकमान्डको जिम्मेवारी पाएका एक सदस्यले नाम उल्लेख नगरिदिन उल्लेख गर्दै भने – ” जनसम्पर्क समिति पोर्तुगल अहिलेसम्म डनगिरी, व्यक्तिवाद र परिवारवादमा चलेको थियो, हिजोको र आजको समाजमा निकै परिवर्तन भैसक्यो, अब डनगिरी र दादागिरीमा संस्था र समाज चल्दैन। ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार